पहिलेको बगर अहिलेको खेलमैदान

म्याग्दी | पुस २०, २०८०

पहिलेको बगर अहिलेको खेलमैदान

म्याग्दी:    म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो ।


मंगला(५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान गरेर झाडीयुक्त बगरलाई खेलमैदानमा परिणत गरेका जानकारी दिए । ‘चार वर्षअघि डोजरले जमिन सम्याउने काम भए पनि खेलमैदान प्रयोगमा नआउँदा झाडीले भरिएको थियो’, उनले भने, ‘पुस १ देखि १२ गतेसम्म सञ्चालन भएको श्रमदान अभियानमार्फत स्तरोन्नति गरिएको थियो ।’


उनका अनुसार उक्त खेलमैदानमा पुस १५ देखि १७ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ ।


खेलमैदानमा झाडी फाँड्ने, रहेका ढुङ्गा टिपेर व्यवस्थापन गर्ने, सम्याउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न एक हजार पाँच सयले श्रमदान गरेका वडाध्यक्ष खत्रीले बताए ।


उनका अनुसार ससाना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोटपटक नलाग्ने बनाइएको छ । बाबियाचौर, पीपलबोट, रणवाङका युवाक्लब र आमासमूहको नेतृत्वमा दैनिक २० देखि ३० जनाका दरले स्थानीयवासी श्रमदान अभियानमा सहभागी भएका पीपलबोटका युवा श्यामसुन्दर कँडेलले बताए ।


बाबियाचौरको मङ्गला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीले बिदाको दिन खेलमैदानमा श्रमदान गरेका थिए ।


गाउँपालिकाले जमिन सम्याउन डोजर परिचालन गर्नुका साथै स्टेज बनाएको छ । जमिन सम्याउन डोजर भाडा र स्टेज बनाउन रु पाँच लाख बराबरको खर्च भएको गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले जानकारी दिए ।


‘झाडीले भरिएको कैलाशफाँट अहिले व्यवस्थित बनेको छ । खेलमैदानले स्वरुप लिएको छ’, उनले भने । गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख बजेटबाट विसं २०७६ मा १२० मिटर लम्बाइ र ७१ मिटर चौडाइ भएको खेलमैदान बनाइएको थियो ।  खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा एक सय २० थान ग्याबियन पर्खाल निर्माण गरिएको थियो ।


गाउँपालिकाको केन्द्र बाबियाचौर, पीपलबोट, सहश्रधारा र रणवाङलाई पायकपर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ ।व्यवस्थित खेलमैदान अभावमा खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडीले खेल अभ्यास गर्न समस्या थियो ।


गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए ।


कैलाशफाँटको खेलमैदानलाई पालिकास्तरीय बनाउने योजना रहेको उनको भनाइ थियो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्